News चन्द्रपुरलाई उपमेयर कप महिला लिगको उपाधि
गोलनेपाल

रौतहट । शनिबार सम्पन्न चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधि घरेलु टोली चन्द्रपुर नगरपालिका, रौतहटले जितेको छ ।

फाइनल भिडन्तमा चन्द्रपुरले वालिङ नगरपालिका, स्याङ्जालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

फाइनल खेलको वुमन अफ द म्याच गोलरक्षक सपना राई घोषित भईन् । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरिन् । त्यस्तै विजेता बनेको चन्द्रपुरले उपाधिसहित नगद ३ लाख हात पारेको छ भने उपविजेता वालिङले १ लाख ५० हजारमा चित्त बुझाएको छ ।

व्यक्तिगत विधातर्फ चन्द्रपुरकै रजनी थोकर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । उनले त्यसवापत एक थान स्कुटर प्राप्त गरिन् । त्यस्तै उत्कृष्ट गोलरक्षक वालिङकी साबित्री किशन घोषित भईन् भने उत्कृष्ट डिफेन्डर चन्द्रपुरकी समिक्षा घिमिरे चुनिईन् ।

चन्द्रपुर कै सबिता राना मगर उत्कृष्ट मिडफिल्डर घोषित हुँदा चन्द्रपुरकै रजनी थोकर उत्कृष्ट फरवार्ड समेत घोषित भईन् । त्यसैगरी चन्द्रपुर कै नुरराज काफ्ले उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट विधातर्फका सबैले जनही १५–१५ हजार प्राप्त गरे ।

रौतहट जिल्ला फुटबल संघको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को व्यवस्थापन र प्राविधिक सहयोगमा यहि माघ १० गतेदेखि शुरु भएको प्रतियोगितामा उत्कृष्ट ८ महिला फुटबल टोलीले सहभागिता जनाएका थिए ।

Post Comments