News फारवेष्ट पशुपति कपः पिएफए र मनकामनाको जित
गोलनेपाल

धनगढी । पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत आईतवार भएका दुई खेलमा पिएफए अत्तरिया र मनकामना युवा क्लब विजयी भएका छन् ।

धनगढी रंगशालामा भईरहेको प्रतियोगिता अन्तर्गत आईतवारको पहिलो खेलमा पिएफए अत्तरियाले मसुरीया फुटवल एकेडेमीलाई २–० ले हराएको हो । पिएफएका लागि विशाल राईले दुई गोल गरे । उनले दोस्रो हाफको १३औं र २९ ौं मिनेटमा गोल गरे ।

आईतवार नै भएको दोस्रो खेलमा मनकामना युवा क्लबले न्यु मदरल्याण्ड युवा क्लबलाई २–१ ले हरायो । मनकामनाका लागि सुरेश खत्रीले दोस्रो हाफको १७औं मिनेटमा गोल गरे भने किशोर सुवाले दोस्रो हाफकै ६१औं मिनेटमा पेनाल्टी मार्फत गोल गरेका थिए । उता मदरल्याण्डका लागि मनिष मगरले पहिलो हाफको चौथो मिनटमै गोल गरे पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत सोमवार पनि दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम फुटबल एकेडेमी र नवोबुद्ध युवा क्लब तथा दोस्रो खेलमा नवदुर्गा युवा क्लब र गौरीगंगा–११ बीच प्रतिस्पर्धा हुनेछ ।

माघ २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित पाँच लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ । स्मरण रहोस, चौथो संस्करणको विजेताले चार लाख तथा उपविजेताले दुई लाख पुरस्कार पाएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरुलाई जनही १५–१५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ ।

 

Post Comments