News पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कपः स्टार सिटी र पिएफए अत्तरिया सेमिफाईनलमा
गोलनेपाल

झण्डै नौ लाख नगद धनराशीको पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलवारदेखि क्वाटरफाईनलका खेलहरु सुरु भएका छन् । फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा धनगढी रंगशालामा भईरहेको पाचौं संस्करणको हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता २०७६ अन्तर्गत मंगलवार भएका क्वाटरफाईनलमा जित हात पार्दै स्टार सिटी युवा क्लब र पिएफए अत्तरिया सेमिफाईनलमा पुगेका छन् ।

मंगलवारको पहिलो खेलमा स्टार सिटीले कैलारी युथ युनाईटेडलाई ७–० को फराकिलो अन्तरले हरायो । स्टार सिटीको सानदार जितमा विक्रम सिंहले दोहोरो ह्याट्रिक गरे । उनले पहिलो हाफको ६ औं, ९ औं अतिरिक्त समयको एक मिनेटमा गोल गरे । दोस्रो हाफको ९ औं, १४ औं र २७ औं मिनेटमा गोल गर्दै उनले दोहोरो ह्याट्रिक पुरा गरे । स्टार सिटीका लागि चेतन कठायतले पहिलो हाफको २५ औं मिनेटमा एक गोल गरे । स्टार सिटी सामु फितलो प्रदर्शन गरेको कैलारी युथ युनाईटेडले कुनै गोल फर्काउन सकेन् ।

मंगलवारको दोस्रो खेलमा पिएफए अत्तरियाले नवोवुद्ध युवा क्लबलाई २–१ ले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १२ औं मिनेटमा पिएफएका लागि अजित गुरुङले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए । त्यो अग्रता दुई मिनेटभन्दा पनि वढी टिकेन् । नवोवुद्धका लागि राजकुमार तामाङले १४ औं मिनेटमा गोल फर्काए । खेल वरावरी भएको अवस्थामा पहिलो हाफको ३८ औं मिनेटमा पिएफएले पेनाल्टी पायो । डिवक्सभित्र ह्यान्ड भएप्छि पाईएको पेनाल्टीलाई पिएफएका अजित तामाङले गोलमा परिणत गरे । दोस्रो हाफमा दुवै टीमले गोल गर्ने दर्जनौ प्रयासहरु सफल हुन नसक्दा पिएफएले २–१ को जित दर्ता गर्दै अन्तिम चारमा स्थान सुरक्षित बनायो ।

प्रतियोगिता अन्तर्गत वसधवार क्वाटरफाईनलका दुई खेल हुनेछन् । पहिलो क्वाटरफाईनलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लब र नवदुर्गा युवा क्लब तथा दोस्रो क्वाटरफाईनलमा नेपालगंज–११ र मनकामना युवा क्लब बीच प्रतिस्पर्धा हुनेछ ।

माघ २५ गतेसम्म आयोजना हुने प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले २ लाख ५० हजार पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टलाई १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले दुई हजार ६ सय नगद पाउनेछन ।

प्रतियोगिताको पाँचौं संस्करणको मुख्य प्रायोजक हाईलेण्डर प्योर ह्वाईट भोड्का रहेको छ । प्रतियोगिताको सह–प्रायोजकको रुपमा एडभेन्चर वेष्ट होलिडेज र टिकट प्रायोजकको रुपमा एक्सप्रेस अटो केयर रहेको छ । फारवेष्ट पशुपति युवा क्लब छैँटौ राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमलाई पदक जिताउने खेलाडीले स्थापना गरेको क्लब हो । उनीहरुले विगत पाँच वर्षदेखि आफू नखेलेर सुदूरपश्चिममा ऐकेडेमी स्थापना गर्ने उद्देश्यले फारवेष्ट पशुपति कपको आयोजना गर्दै आएका छन् ।

Post Comments