News म्याङलुङ र निघुरादिन सेमिफाइनलमा
रमेश समदर्शी

खाम्लालुङ (तेह्रथुम) । ताप्लेजुङको निघुरादिन स्पोर्टिङ क्लब र तेह्रथुमको म्याङलुङ स्पोर्टिङ क्लब यहाँ जारी गजेन्द्र इस्वो स्मृति रनिङ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज सम्पन्न क्वाटरफाइनल खेलबाट दुई टोली सेमिफाइनलमा प्रवेश गरेको हो ।

आठराई २ खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा भएको दोस्रो क्वाटरफाइनल खेलमा निघुरादिनले स्थानीय ग्रामीण विकास युवा समितिलाई २ १ गोलले पराजित गरेको थियो । निघुरादिनका लागि कप्तान पुरण थलङले २ गोल गरे भने ग्रामीण विकासका लागि
सरोज लिम्बूले सान्त्वना गोल गरेका थिए ।

यस्तै, तेस्रो क्वाटरफाइनल खेलमा युनाइटेड हाङपाङ युवा क्लब ताप्लेजुङलाई सडनडेथमा ७-६ गोलले पराजित गर्दै म्याङलुङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित समयमा दुवै टोलीले २-२ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । तर, सडन डेथबाटमात्र छिनोफानो सम्भव भयो । निर्धारित समयमा म्याङलुङका सन्दिप श्रेष्ठ र विवेक गुरुङले गोल गरे भने हाङपाङका लागि समिर गुरुङ र जिवन सेम्बुले गोल गरेका थिए ।

यसैगरी, आजै भएको महिलातर्फको सेमिफाइनल खेलबाट मुनाल युथ क्लब फेदाप जलजले फाइनलमा प्रवेश गरेको छ । हाङपाङ युनाइटेड ताप्लेजुङलाई २ ० गोलले पराजित गर्दै फेदाप फाइनलमा प्रवेश गरेको हो । उसका लागि अनिता लम्जेल र प्रिया बस्नेत गोल गरेकी हुन् ।

महिलातर्फको विजेताले नगद ६० हजार र उपविजेताले नगद ४० हजार पाउनेछ । आठराई गाउँपालिका र २ नम्बर वडा कार्यालयको संयुक्त आयोजनामा भएको पुरुषतर्फको प्रतियोगिताको विजेताले नगद १ लाख ५० हजार र उपविजेताले नगद १ लाख पाउनेछ ।

Post Comments