News न्यु सिर्जना सञ्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । खेलमा उत्कृष्ट पूनःरागमन गर्दै न्यु सिर्जना युथ क्लब जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा न्यु सिर्जनाले हिमाल युथ क्लबलाई टाईब्रेकरमा ४–२ ले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

त्यसअघि तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको निर्धारित समयको खेलमा दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए ।

हिमालका लागि हिमाल थापाले शुरुवाती गोल गर्दा खेलको अन्तिमतिर किरन थापाले न्यु सिर्जनाका लागि बराबरी गोल फर्काएका थिए । पेनाल्टी शुटआउटमा भने न्यु सिर्जना सफल बन्यो ।

खेलमा न्यु सिर्जनाका गोलरक्षक बिशाल घर्ती मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत माघ २७ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक सञ्जिवनी युवा क्लब र देवदह ब्वाईज बीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । उनले व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए । फाइनल खेल फागुन २ गतेका दिन हुनेछ ।

Post Comments