News सातौँ राजर्षि जनक कप: एनजेजेवाईसी सिमरा क्वाटरफाइनलमा
रमेश समदर्शी

नेपाल पुलिस क्लब सर्लाहीको बामगतीमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार भएको तेस्रो क्वाटरफाइनल खेलमा टाइब्रेकरमा एनजेजेवाईसी सिमरासँग पराजितहुँदै पुलिस पहिलो चरणमै बाहिरिएको हो ।

खेलको निर्धारित समयमा पाएको दुवै टोलीले अवसर गुमाउँदा गोलरहित बराबरी खेल्न बाध्य भएका थिए । त्यस्तै, अतिरिक्त २० मिनेटको समयमा पनि निर्णायक गोल हुन नसकेपछि छिनोफानो टाइब्रेकरबाट लिइएको हो ।

स्व. सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा आयोजित प्रतियोगिताको आज ११० मिनेटको खेल सकिँदासम्म कुनै गोल हुने सकेन । अन्ततः सिमराले ५-४ गोलअन्तरले पुलिसलाई पराजित गर्यो ।

टाइब्रेकरमा सिमराका गोलरक्षक रोहन मगर नायक सावित भए । उनले पुलिसका लागि अजित भण्डारीको प्रहार रोके । भण्डारीको प्रहार अन्तिम थियो । सिमराका गोलरक्षक रोहन मगर म्यान अफ दी म्याच बन्दै नगद १० हजार पाउन सफल भए ।

सिमराको जितमा कप्तान निरज मगर, अस्मित चौधरी, सकल रेग्मी, कमल श्रेष्ठ र जनक कोइरालाको प्रहार गोलमा परिणत भएको थियो । अस्मित चौधरीको प्रहारमा  पुलिसका गोलरक्षक सन्जित श्रेष्ठको टच रहे पनि गोल हुनबाट भने जोगाउन सकेनन् ।

पुलिसका लागि प्रताप गुरुङ, रवि पासवान, सौजन याक्खा र बुद्ध लामाको प्रहारमात्र गोलमा परिणत भएको थियो ।



प्रतियोगितामा भारत र नेपालका १२ टिम सहभागी छन् । भोलि आयोजक बागमती युवा क्लबले सुनसरीको धरान एफसीसँग प्रतिस्पर्धा गर्नेछ । बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा भएको राजर्षि जनक कपको सातौँ संस्करण विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ हात पार्नेछ।

हरेक विधामा उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए । त्यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने आयोजक बागमती युवा क्बलका एक खेलाडीलाई बागमती राईजिङ अफ दी ईयर प्लेयर्स घोषणासहित एक थान मोटरसाइकल प्रदान गरिने क्लबका महासचिव सागर मैनालीले जानकारी दिए ।

Post Comments