News स्वर्गीय दीलिप राणा स्मृति भेट्रान्स : एकै दिन चार टोली क्वाटरफाइनलमा
गोलनेपाल

स्वर्गीय दीलिप राणा स्मृति चौथो अन्तर्राष्ट्रिय आमन्त्रण भेट्रान्स कप फुटबलमा आज (आइतबार) चार खेल सम्पन्न भएको छ ।

पहिलो खेलमा बर्दघाट भेटेरानले अभिषेक चर्च भेट्रान्स रजहरलाई निराश बनायो । प्रतिस्पर्धात्मक खेलमा बर्दघाट १-० ले विजयी भयो । बर्दघाटको जितमा भरत गुरुङले गोल गरे । उनले तेस्रो मिनेटमा नै गोल गरेका थिए। बाँकी समयमा थप गोल हुन सकेन र बर्दघाट विजयी भयो ।

यो जितसँगै बर्दघाट क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो खेलमा चाबेल भेटेरानले हेटौंडा भेटेरानलाई ३-१ ले पाखा लगायो । चाबेलको जितमा नरेश श्रेष्ठले दुई तथा उत्तर खनालले एक गोल गरे । खेलको दोस्रो मिनेटमा उत्तरले गोल गर्दै चाबेललाई अग्रता दिलाए । १३ औं मिनेटमा नरेशले गोल गर्दै अग्रता दोब्बर बनाए । ३३औं मिनेटमा नरेशले व्यक्तिगत दोस्रो गोल गर्दै चाबेलको जित सुनिश्चित गरे ।

आजकै तेस्रो खेलमा साबिक विजेता फ्रीडम फाइटर ठमेलले फूपू सैनिक जबई स्पोर्टिङलाई ३-२ ले पाखा लगायो । एक गोलले पछि परेको ठमेलले पुनरागमन जित निकाल्यो । ठमेलको जितमा राजकुमार घिसिङले दुई तथा नरेन्द्र लामाले एक गोल गरे । अन्तिम खेलमा आयोजक चितवन भेटेरान रातो विजयी भयो । चितवन रातोले भनी मण्डल ललितपुरलाई १-० ले पराजित गर्यो । खेलको १२ औं मिनेटमा ललितपुरका दीलिप थापाले आत्मघाती गोल गरेका थिए । उक्त गोल नै चितवनलाई जिताउन पर्याप्त भयो । चितवनका विजय राई म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगितामा सोमबार तीन खेल हुनेछ । पहिलो खेलमा दिउँसो १ बजे दरबार भेटेरान नुवाकोट र थापा गाउँ सुधार समिति भिड्नेछन् । दोस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लब र बगरभाई खलक तथा तेस्रो खेलमा कलकत्ता भेटेरान र फ्रेन्ड्स भेटेरान भिड्नेछन् ।

चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक हरि भट्टले जानकारी दिए ।

Post Comments