News खुम्बु ल्होसार कपमा नाम्चे र महेन्द्र ज्योतिको जित
गोलनेपाल

काठमाडौं । जारी १३औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा नाम्चे युवा क्लब विजयी भएको छ । सोमबार सानो गौचरण मैदानमा भएको पहिलो खेलमा नाम्चेले आयोजक खुम्जुङ युवा क्लबलाई १–० ले हरायो । छिरीङ खेलको म्यान अफ द म्याच भए ।

यस्तै सोमबार सम्पन्न दोस्रो खेलमा महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मन्चले खुन्दे कम्युनिटी क्लबलाई पराजित गरेको छ । खेलको सुरुवाती समयदेखि महेन्द्र ज्योति भूतपूर्व बिद्यार्थी मञ्च हाबी भयो । ४-१ गोलअन्तरको फराकिलो जित हासिल गरेसँगै महेन्द्र क्लबले अघिल्लो चरणको सम्भावना बलियो बनाएको छ । खेलको म्यान अफ द म्याच नवाङ टासी शेर्पा चुनिए ।

खुम्जुङ युवा क्लबद्वारा शनिबारदेखि आयोजित प्रतियोगित फाल्गुण ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको ज्ञानेश्वरमा अवस्थित सानोगौचरण खेलकुद मैदानमा संचालन भईरहेको प्रतियोगितामा ८ टिमको सहभागिता हुनेछ । ८ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा जम्मा १५ खेल हुनेछन ।

शेर्पा समुदायको महान् चाड अर्थात् नयाँ वर्ष – ल्होसारको उपलक्ष्यमा विगत १२ वर्षदेखि यो प्रतियोगिता आयोजना हुदैँ आएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका – खुम्बु क्षेत्रको विभिन्न गाउँमा जन्मिएर स्वदेश तथा विदेशमा छरिएर रहेका युवा पुस्ताको खेलकुद प्रतिको लगाव, प्रतिभाको प्रस्फुटन र समुदायका सम्पूर्णलाई एकै ठाउँमा जोड्ने लक्ष्यसहित हरेक वर्ष फुटबल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
 
 
Post Comments