News पूर्व बार्सा खेलाडी डिग्ने मनाङमा अनुबन्धित
गोलनेपाल

काठमाडौं । स्पेनिस महारथी बार्सिलोनाका पूर्व खेलाडी डियावान्डु डिग्नेलाई नेपालको चर्चित क्लब मनाङ मस्र्याङ्दी क्लबले अनुबन्ध गरेको छ । मनाङले यी २८ वर्षिय सेनेगल इन्टरनेशनललाई अनुबन्ध गरेको कुरा समेत पुष्टी गरेको छ ।

चर्चित अस्पायर एकेडेमीबाट युथ करियर शुरु गरेका डिग्नेले त्यसपछि बेल्जियन क्लब इयुपेन, बार्सिलोना बी हुँदै बार्सिलोनाको सिनियर टिममा पनि स्थान बनाएका थिए । सन् २०१४ को डिसेम्बरमा कोपा डेल रे अन्तरगत हुस्का विरुद्ध उनी बार्साको सिनियर टिममा परे पनि मैदानमा उत्रिन भने पाएनन् । सो खेलमा बार्सा ८–१ ले विजयी भएको थियो ।

सन् २०१९–२० को सिजन ओडिसाका लागि इण्डियन सुपर लिग पनि खेलेको डिग्नेले त्यसपछि केही समय फिनल्याण्डको क्लब एफसी केटिपीमा पनि बिताएका थिए ।

त्यस्तै सेनेगलको युथ टोली हुँदै सिनियर टोलीमा पनि डिग्नेले स्थान बनाईसकेका छन् । सेनेगलका लागि दुई इन्टरनेशनल क्याप जितेका डिग्नेले सन् २०१४ को मई महिनामा सेनेगलका लागि कोलम्बिया विरुद्ध खेल्दै इन्टरनेशनल डेब्यु गरेका थिए ।

ए डिभिजन लिगमा एन्फाले विदेशी खेलाडीको कोटामा बृद्धि गरेपछि क्लबहरुलाई विदेशी खेलाडीहरु अनुवन्ध गर्न थप सहज बनेको छ । स्मरण रहोस, यस वर्षको शहिद स्मारक ए डिभिजन लिग यही फागुन १९ गतेदेखि शुरु हुँदैछ । मनाङ अहिले लिग कै तयारीमा व्यस्त पनि छ ।

Post Comments