News फोर ब्रदर्शलाई नवयुवा कपको उपाधि
सुरज राना मगर

ठुटिपिपल । यहाँ सम्पनन १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि फोर ब्रदर्श एफसी, नवलपरासीले जितेको छ । मंगलबार भएको फाइनल भिडन्तमा फोर ब्रदर्शले फर्साटिकर युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै विजेता बनेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा फोर ब्रदर्शका लागि अनुज भण्डारीले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो । फोर ब्रदर्शका युवराज चापागाईं फाइनल खेलको म्यान अफ द म्याच घोषित भए । त्यसवापत उनले एक थान स्मार्ट वाच हात पारे ।

विजेता बनेको फोर ब्रदर्शले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता फर्साटिकरले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । फोर ब्रदर्शका सदिप केसी प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट गोलरक्षक पनि फोर ब्रदर्श कै बिक्रम राना मगर घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार फर्साटिकरका टिकाराज गुरुङले हात पारे । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ८–८ हजार सहित ट्रफी हात पारे ।

विजयी खेलाडहरुलाई समापन कार्यक्रमको प्रमुख अतिथी ओमसतिया गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलका अध्यक्ष चन्द्र गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन, खेल संयोजक बिष्णु बराल लगायतका अतिथीहरले पुरस्कृत गरेका थिए ।

प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङले धन्यवाद र आभार प्रकट गरे । साथै आउँदो संस्करणहरुमा प्रतियोगितालाई अझै भव्य बनाउने योजनाका साथ लागिपर्ने उद्घोष समेत गरे ।

ओमसतिया गाउँपालिकाको विशेष सहयोगमा गत माघ २३ गतेदेखि शुरु भएको प्रतियोगितामा कुल १६ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments