News आदर्श च्यालेञ्ज कपमा आयोजकको विजयी सुरुवात
रमेश समदर्शी

झापा । झापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगितामा आयोजक आदर्श युवा क्लबले विजयी सुरुवात गरेको छ । दमकको ध्रुुबतारा स्पोर्टिङ क्लबलाई २–१ गोल अन्तरले हराउँदै आयोजकले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

आयोजकका लागि खेलको १७औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रस पासमा डि–बक्समा अनमार्क रहेका थापाले गोललाई पोष्टको दिशा दिएका थिए ।

खेलको ७०औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै आयोजक टिमका प्रदीप बुढाथोकीले अग्रता दोब्बर बनाए । बिपक्षी खेलाडी बिट भइसकेको समयमा बुढाथोकीले सुन्दर गोल गर्दै आयोजकको जित सुनिश्चित पारेका थिए ।

खेलको इन्ज्युरी समयमा ध्रुुबताराका सञ्जय धिमालले सान्त्वना एक गोल फर्काए पनि जितका लागि त्यो पर्याप्त हुन सकेन । अनमार्क धिमालले वान टु वानको स्थितिमा गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच आयोजक आदर्श युवा क्लबका पहिलो गोलकर्ता पुजन थापा घोषित भए । उनले नगद तीन हजार रुपैंयाँ पुरस्कार पाए ।

भोलिको खेलमा बिर्तामोड युनाइटेड एफसीले भारतको नर्थ बंगाल एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमको सहभागिता रहेको छ ।

२०७० सालमा सुरु भएको प्रतियोगिताको २०७१ सालमा दोस्रो संस्करण भएको थियो । दोस्रो संस्करणपछि स्थगित प्रतियोगिता यो वर्ष तेस्रोपटक भएको क्लबका अध्यक्ष मातृका श्रेष्ठले जानकारी दिए ।

Post Comments