News मच्छिन्द्रलाई सेमिफाइनल पुर्याउन बिमलको निर्णायक गोल
गोलनेपाल

भद्रपुर । लिग च्याम्प्यिन मच्छिन्द्र फुटबल क्लब यहाँ जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको दोस्रो क्वाटरफाइनलमा मच्छिन्द्रले चर्च ब्वाईज युनाइटेड क्लबको चुनौति २–१ ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा भएको खेलमा अग्रता चर्च ब्वाईजले लिए पनि त्यसलाई जोगाउन नसक्दा हार बेहोर्न बाध्य बन्यो ।

५५औं मिनटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको चर्च ब्वाईजले त्यसलाई अन्तिमतिर गुमाउन पुग्यो । ८०औं मिनटमा सुजल श्रेष्ठले मच्छिन्द्रका लागि बराबरी गोल फर्काए भने त्यसको पाँच मिनट लगतै बिमल घर्ती मगरले दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाए ।

खेलमा मच्छिन्द्रका सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत फागुन ११ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र ड्रुक ल्हायुल एफसी, भुटानबीच हुने आयोजकले जानकारी दियो ।

भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको संमन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ ।

Post Comments