News केपी ओली कप शुरु, सातदोबाटोको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा बिहीबारदेखि शुरु केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबले विजयी शुरुवात गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै विजयी शुरुवात गरेको हो । सातदोबाटोको जितमा पहिलो हाफको अतिरिक्त समयमा दिपकराज सिंह ठकुरीले पहिलो गोल गरे । यद्यपि ४९औं मिनटमा प्रविन थापाले पुलिसका लागि बराबरी गोल फर्काएका थिए ।

रोमाञ्चक खेलको ७१औं मिनटमा दिपकराजले नै व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै सातदोबाटोको जित सुनिश्चित गरे । खेलमा निर्णायक दुई गोल गरेका दिपकराज सिंह ठकुरी म्यान अफ द म्याच समेत चुनिए ।

यो जितसँगै सातदोबाटो सेमिफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको दोस्रो क्वाटरफाइनल खेल चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र एफसीबीच हुने आयोजकले जानकारी दियो ।

कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १७ गतेका दिन हुनेछ ।

Post Comments