News वार्ड नम्बर ६ नेर्पालाई तेस्रो वार्ड कपको उपाधि
गोलनेपाल

दिक्तेल । खोटाङ जिल्लास्तरीय तेस्रो वार्ड कप नकआउट फुटबल प्रतियोगिताको उपाधि वार्ड नम्बर ६ नेर्पाले जितेको छ । फाइनलमा वार्ड नम्बर ११ खार्मीलाई सडन डेथमा ६–४ ले हराउँदै वार्ड नम्बर ६ नेर्पा च्याम्पियन बनेको हो ।

विजेता बनेको वार्ड नम्बर ६ नेर्पाले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्यो भने उपविजेता वार्ड नम्बर ११ खार्मीले नगद ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच वार्ड नम्बर ६ नेर्पाका डिगेन्द्र गुरुङ्ग घोषित भए । उनले पुरस्कार वापत आकर्षक गिफ्ट ह्याम्पर हात पारे । उत्कृष्ट गोलरक्षक वार्ड नम्बर ११ खार्मीका निशान बिक घोषित भए । उत्कृष्ट डिफेन्डर वार्ड नम्बर ११ खार्मीकै धुर्व विक घोषित भए भने उत्कृष्ट मिडफिल्डर वार्ड नम्बर ६ नेर्पाका पारस कार्की चुनिए ।

उत्कृष्ट प्रशिक्षक वार्ड नम्बर ६ नेर्पाका विरेन गुरुङ्ग घोषित भए भने फेयर प्ले पुरस्कार वार्ड नम्बर १ हलेसी बाहुनीडाँडाले प्राप्त गर्यो । त्यसवापत टोलीले नगद ५,५५५ रुपैयाँ प्राप्त गर्यो । सर्वाधिक गोलकर्ताको पुरस्कार वार्ड नम्बर ६ नेर्पाका विदेश राईले हात पार्दा उत्कृष्ट युवा खेलाडीको पुरस्कार वार्ड नम्बर ६ नेर्पा कै प्रज्वल गुरुङ्गले हात पारे । उत्कृष्ट बनेका सबैले जनही ३,३३३ रुपैयाँसहित ट्रफी हात पारे ।

त्यस्तै प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी वार्ड नम्बर ६ नेर्पा कै सुरज राई घोषित भए । उनले त्यसवापत नगद ५,५५५ रुपैयाँसहित ट्रफी हात पारे ।

सोल्मा स्पोर्टस क्लब, दिक्तेल, खोटाङको आयोजनामा भएको प्रतियोगिताको विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी पूर्व सिंगापुर इन्स्पेक्टर रुद्र राई, विशेष अतिथी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपमेयर विशन राई, खोटाङ जिल्ला फुटबल संघका अध्यक्ष धुर्व विक्रम राई, समाजसेवी हट मिलन राई लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।

 

Post Comments