News नेर्पा स्पोर्टस र गछिया फाइनलमा भिड्ने
गोलनेपाल

बुइपा । नेर्पा स्पोर्टस क्लब र गछिया युवा समाज यहाँ जारी प्रभुराम राई आमन्त्रित कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । शनिबार भएको दुई सेमिफाइनलतर्फ आ–आफ्नो खेल जित्दै नेर्पा र गछियाले उपाधि भिडन्त पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलतर्फ नेर्पा स्पोर्टसले आयोजक वुइपा–११ स्पोर्टस क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुग्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा नेर्पा ४–३ ले विजयी बनेको हो । त्यसअघि निर्धारित समयतर्फ बुइपाका लागि डिकेन राईले गोल गरेका थिए भने नेर्पाका लागि बिक्की चाम्लिङ राईले गोल गरेका थिए । खेलमा नेर्पा स्पोर्टसका रोहन परियार म्यान अफ दि म्याच चुनिए ।

त्यस्तै दोस्रो सेमिफाइनलमा गछियाले खरम्बु स्पोर्टस क्लबलाई ४–२ ले हराउँदै उपाधि नजिक पुग्यो । गछियाको जितमा मिक्सेन दासले दुई गोल गर्दा रोहन गुरुङ र सौलेन लामाले एक–एक गोल गरे । उता पराजित खरम्बुका लागि भने बिनु मगर र जिवन परियारले गोल गरेका थिए । खेलमा गछियाका रोहन गुरुङ म्यान अफ दि म्याच बने ।

बुइपा–११ स्पोर्टस क्लब, खोटाङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ ११ गतेका दिन हुनेछ ।

 

Post Comments