News सतीपिपललाई सातौं गोरखाली कपको उपाधि
गोलनेपाल

गोरखा । शानदार जितका साथ सातौं गोरखाली कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सतीपिपल क्लबले जितेको छ । उपाधि जित्ने क्रममा सतीपिपलले फाइनलमा आयोजक हरमटारी क्लबलाई ४–० को अन्तरले हरायो ।

हरमटारी रंगशालामा भएको उपाधि भिडन्तमा सतीपिपलका लागि विक्की चाम्लिङ राईले ह्याट्रिक गरे । त्यस्तै थप एक गोल बिक्रम पौडेलले गरे । फाइनल खेलमा ह्याट्रिक गरेका सतीपिपलका विक्कली चाम्लिङ राई म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

विजेता बनेको सतीपिपलले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्यो भने उपविजेता आयोजक हरमटारीले १,११,१११ रुपैयाँमा चित्त बुझायो । सेमिफाइनलमा पराजित भएका दुई टोली खोपलाङ्ग एफसी र पृथ्वी युवा क्लबले जनही ५०–५० हजार प्राप्त गरे ।

सतीपिपलका सरोज तामाङ उत्कृष्ट गोलरक्षक बने । उत्कृष्ट डिफेन्डर पनि सतीपिपल कै साजिद स्मार्ट घोषित भए । उत्कृष्ट मिडफिल्डर हरमटारीका सन्त बहादुर गुरुङ घोषित हुँदा सर्वाधिक गोलकर्ताको पुरस्कार खोपलाङ्गका समिन थापाले प्राप्त गरे । उनले प्रतियोगिताभरि कुल १२ गोल गरेका थिए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही ७५०० सहित ट्रफी हात पारे । प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी आयोजक हरमटारीका लक्षु थापा मगर घोषित भए । उनले पुरस्कार वापत नगद १५ हजार र ट्रफी हात पारे ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिकाका नगर प्रमुख कृष्ण बहादुर राना लगायतले पुरस्कृत गरे । समापन कार्यक्रममा बोल्दै मेयर रानाले गोरखाली कपको आयोजनाले जिल्लामा रहेका युवा खेलाडीहरुलाई थप प्रोत्साहन मिल्ने बताए । साथै प्रतियोगिता आयोजना कै कारण गोरखा जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनले बताए ।

हरमटारी क्लब, गोरखाको आयोजनामा फागुन ७ गतेदेखि शुरु भएको जिल्ला कै सर्वाधिक ठूलो राशीको यस प्रतियोगितामा कुल १२ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments