News फारवेष्ट पशुपति कपः स्टार सिटी उपाधि नजिक
गोलनेपाल

धनगढी । रोमाञ्चक जितका साथ स्टार सिटी युवा क्लब पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । विहीवार धनगढी रंगशालामा भएको पहिलो सेमिफाईनलमा स्टार सिटीले मनकामना युवा क्लबलाई ३–२ ले हराएर उपाधि नजिक पुगेको हो ।

निकै प्रतिस्पर्धात्मक पहिलो सेमिफाईनलमा स्टार सिटी र मनकामनाले पहिलो हाफ वरावरी खेले । पहिलो हाफमा दुवै टीमले दर्जनौं गोल गर्ने मौका पाउँदा पनि वललाई गोलपोष्टको दिशा दिन सकेनन् । विदेशी खेलाडी सहित मैदानमा उत्र्रिएको स्टार सिटीले पहिलो हाफमा मनकामनाभन्दा वढी गोल गर्ने अवसर पाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेन् ।

पहिलो हाफ गोल रहित वरावरीमा सकिएपछि दोस्रो हाफको शुरुवातमै मनकामनाले गोल गर्दै खेलमा अग्रता लियो । मनकामनाका आशिष श्रेष्ठले मैदानको दायाँ साईडबाट दिएको पासलाई डिबक्स भित्र रहेका कृजल खड्काले गोल गरे । त्यसको नवौं मिनेटपछि स्टार सिटीले गोल गर्दै खेल वरावरीमा ल्यायो । दोस्रो हाफको ११औं मिनेटमा कप्तान कुवेर सिंहले मैदानको वायाँ साईडवाट दिएको पासलाई सदुपयोग गर्दै विक्रम सिंहले गोल गरे ।

त्यस्तै दोस्रो हाफको १५औं मिनेटमा स्टार सिटीले फेरि खेलमा अग्रता लियो । मनकामनाले फल गरेपछि स्टार सिटीले पाएको फ्रिकिकलाई राकेश हमालले प्रहार गर्दा गोलरक्षक सलन अधिकारीको हातवाट छुटेको वललाई कप्तान कुवेर सिंहले गोलमा परिणत गरे । दोस्रो हाफको २८औं मिनेटमा स्टार सिटीले अग्रतालाई ३–१ मा पुरायो ।

मनकामनाका आशिष श्रेष्ठले स्टार सिटीका कमल देउवालाई फल गरेपछि पाएको फ्रिकिकलाई राकेश हमालले गोल गरे । उनको प्रहार गोलरक्षक सलन अधिकारीले थाहा नपाउँदै पोष्टमा छिरेको थियो । दोस्रो हाफको ईन्जुरी समयमा गोल गर्दै मनकामनाले गोल अन्तरलाई ३–२ को स्थितिमा ल्यायो ।

अब स्टार सिटीले उपाधिका लागि सुदुरपश्चिम–११ स्पोर्टस क्लब र पिएफए अत्तरिया बीचको विजेतासँग भिड्ने छ । दोस्रो सेमिफाईनल खेल शुक्रवार धनगढी रंगशालामा हुनेछ । शनिवार प्रतियोगिताको फाईनल खेल हुनेछ ।

फारवेस्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको विजेताले पाँच लाख हात पार्नेछ भने उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments