News बहुप्रतिक्षित ए डिभिजन लिगको तयारी पूरा
गोलनेपाल

काठमाडौं । नेपाली फुटबलको मेरुदण्डका रुपमा रहेको बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन शुक्रबारदेखि भव्यताका साथ शुरु हुँदैछ । लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी पनि गरायो ।

लिगमा सहभागिता जनाउने क्लबका प्रतिनिधी, खेलाडी, प्रशिक्षकहरुले आ–आफ्नै दावेदारीता पेश गरे । लिगका लागि राम्रा खेलाडी र राम्रो तयारी भएको अधिकांशको भनाई थियो । साथै लिगमा राम्रो प्रदर्शन गर्ने धेरैको दावी पनि थियो । लिगको डिफेन्डिङ च्याम्पियन भने मच्छिन्द्र फुटबल क्लब हो ।

लिगमा सहभागिता जनाउने १४ वटै टोलीहरुको तयारी पनि पूरा भएको छ । सबै उत्साहित पनि छन् । दशरथ रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा नवआगन्तुक टोली खुमलटार एफसी र फ्रेण्डस क्लब भिड्ने छन् । जुन खेल बेलुका ५ः३० बजेदेखि शुरु हुनेछ ।

प्रतियोगिताको औपचारिक कार्यक्रम भने ४ः३० बजेदेखि शुरु हुने एन्फाले जानकारी दियो । उद्घाटन कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुती पनि रहनेछ । प्रतियोगिताको उद्घाटन भने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले गर्ने जानकारी दिइयो ।

आगामी वर्ष २०८० को जेष्ठ महिनासम्म चल्ने लिग डबल राउण्ड रोबिनका आधारमा हुने एन्फाले यसअघि नै जानकारी गराईसकेको छ । लिगका खेलहरु दशरथ रंगशाला बाहेक च्यासल स्टेडियम र एन्फा कम्प्लेक्समा हुनेछन् ।

मार्केटिङ, डिजिटल ब्रोडकास्टिङ तथा टिकटिङ अधिकार पाएको एमडीएसी स्पोर्टस प्रा.लि. ले लिगका सबै खेलहरु प्रत्यक्ष प्रसारण गर्नेछ । एमडीएसीको स्वामित्वमा रहेको फोरके टेलिभिजन तथा उसको आधिकारिक अनलाईन प्लेटफर्ममा लिगका खेलहरु प्रत्यक्ष प्रसारण हुनेछन् ।

लिग विजेताले उपाधिसहित नगद ७५ लाख हात पार्नेछ भने दोस्रो हुनेले ५० लाख तथा तेस्रो हुनेले २५ लाख प्राप्त गर्नेछ । अन्य व्यक्तिगत विधातर्फ पनि आकर्षक नगद पुरस्कारहरुको व्यवस्था गरिएको एन्फाले जानकारी दियो ।

 

Post Comments