News चर्च ब्वाईजको जिम्मेवारी हुमागाईंको काँधमा
गोलनेपाल

काठमाडौं । यस सिजन शहिद स्मारक ए डिभिजन लिगमा बढुवा भएको चर्च ब्वाईज युनाइटेड क्लबले आफ्नो मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईंलाई नियुक्त गरेको छ ।

नेपालको घरेलु फुटबलमा अनुभवी र सफल प्रशिक्षकको छवि बनाएका हुमागाईं केही वर्ष अघिदेखि अमेरिका मै बस्दै आईरहेका छन् । केही महिना अघि उनले राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि सम्हालेका थिए ।

गत सेप्टेम्बरमा भएको बंगलादेश विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हुमागाई नेपाली टोलीका मुख्य प्रशिक्षक थिए । घरमै भएको सो खेलमा नेपाल ३–१ ले विजयी भएको थियो ।

हुमागाईंले त्यसअघि नेपाल सुपर लिग क्लब ललितपुर सिटी एफसीको जिम्मेवारी पनि सम्हालेका थिए । त्यसअघि उनले अर्को सफल क्लब थ्रीस्टार क्लबको प्रशिक्षकीय जिम्मेवारी सम्हालेका थिए । साथै थ्रीस्टारलाई लिग उपाधि समेत जिताएका थिए ।

लिग यही फागुन १९ गते शुक्रबारदेखि शुरु हुँदैछ । हुमागाईंको नयाँ क्लब चर्च ब्वाईजले फागुन २० गते शनिबारका दिन च्यासल स्टेडियममा नेपाल पुलिस क्लबसँग भिड्दै लिगको यात्रा शुरु गर्नेछ ।

 

Post Comments