News आठराई अध्यक्ष कपः नव कोपिला, शेसेलुङ, जुनियर युथ र ग्रामिण विकास विजयी
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कपमा शुक्रबार चार टिम विजयी भएका छन् ।

नव कोपिला युवा क्लब, शेसेलुङ युवा क्लब, जुनियर युथ स्पोर्टिङ र ग्रामिण विकास युवा समाज विजयी भएका हुन् । पहिलो खेलमा नव कोपिलाले आठराई गाउँपालिकाको १ नम्बर वडा कार्यालयको टिमलाई २-० गोलले पराजित गर्यो । उसका लागि विजय गिरीले पहिलो हाफको ५औँ र दोस्रो हाफका १३औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो खेलमा शेसेलुङले युथ स्पोर्टिङ थोक्लुङलाई १-० गोलले पराजित गर्यो ।

शेसेलुङका लागि सुवत लिम्बूले खेलको १६औँ मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो । तेस्रो खेलमा आठराई गाउँपालिका ४ नम्बर वडा कार्यालय इवाको टोलीलाई जुनियर युथ छातेले २-० गोलले पराजित गर्यो । जसका लागि खेलको पहिलो मिनेटमै पूर्ण लिम्बूले गोल गरे भने ७औँ मिनेटमा निर्भिक लिम्बूले गोल गरेका हुन् ।

आजै भएको अन्तिम खेलमा ग्रामीण विकास युवा समाज खाम्लालुङले निघुरादिन स्पोर्टिङलाई टाइब्रेकरमा पराजित गर्यो । निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाइब्रेकरमा ग्रामीण विकासले ४-२ गोलअन्तरले पराजित गरेको हो ।

रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।

Post Comments