News आठराई अध्यक्ष कपः नव कोपिला र फेदाप सेमिफाइनलमा
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका २ झाँक्री गुफास्थित खेलमैदानमा आयोजित प्रथम आठराई गाउँपालिका अध्यक्ष रनिङ कप पुरुष फुटबल प्रतियोगितामा आइतबार नव कोपिला युवा क्लब र फेदाप खेलकुद विकास समिति सेमिफाइनलमा प्रवेश गरेका छन् ।

दोस्रो क्वाटरफाइनल खेलमा नव कोपिलाले जुनियर युथ स्पोर्टिङलाई ३-० गोलले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । उसका लागि विजय गिरीले प्रतियोगिताकै पहिलो ह्याट्रिक गरेका हुन् ।

आजै भएको तेस्रो क्वाटरफाइनल खेलमा फेदापले ग्रामीण समाज खाम्लालुङलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । फेदापका लागि रोनिश राई र निशान लिम्बूले गोल गरे भने ग्रामीण विकासका लागि देवेन राईले एक गोल फर्काए ।

यसअघि भएको अन्तिम प्रिक्वाटर फाइनल खेलमा महादेव आधारभूत विद्यालय ह्वाकुले ह्यात्रुङ झरना स्पोर्टिङलाई ४-२ गोलले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ह्वाकुका लागि नवराज गुरुङले २ गोल गरे भने विकास राई र दिपेन राईले १ १ गोल गरे । यस्तै, ह्यात्रुङ झरनाका लागि किरण नेपाली र रोशन लिम्बूले १ १ गोल गरेका हुन् । सेमिफाइनल प्रवेशका लागि ह्वाकुले भोलि आठराई गाउँपालिकाको ए टिमसँग अन्तिम क्वाटरफाइनल खेल खेल्नेछ ।

रनिङ कपअन्तर्गत पुरुष तथा महिला फुटबल र पुरुषतर्फ भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अध्यक्ष कपको फाइनल खेल फागुन २४ गते हुनेछ । पुरुषतर्फको फुटबल विजेताले नगद १ लाख ५० हजार, उपविजेताले १ लाख तथा महिलातर्फको विजेता ६० हजार, उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछन् ।

Post Comments