News लिगमा साविक विजेता मच्छिन्द्रको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । मोफसलको फुटबलमा राम्रो प्रदर्शनसँगै उपाधि पनि जितेको साविक विजेता मच्छिन्द्र फुटबल क्लबले शहिद स्मारक ए डिभिजन लिगमा भने खराब शुरुवात गरेको छ । आइतबार भएको लिगको पहिलो चरणको अन्तिम खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लबसँग १–३ को हार बेहोर्यो र लिगमा खराब शुरुवात गर्न बाध्य बन्यो ।

दशरथ रंगशालामा भएको खेलको २३औं मिनटमा देवेन्द्र तामाङ्गको गोलबाट मच्छिन्द्रले लिगमा शुरुवाती अग्रता बनाए तापनि त्यसलाई जोगाई राख्न सकेन । खेलको ५९औं मिनटमा हिसुब थपलियाले जावलाखेलका लागि पहिलो गोल गरे र खेललाई १–१ को बराबरीमा ल्याए । लगतै ६४औं मिनटमा एन्कोटो मासोबीले जावलाखेलका लागि दोस्रो गोल थपे । ७६औं मिनटमा सिमान्त थापाले जावलाखेलका लागि तेस्रो गोल गर्दै टोलीको शानदार जित सुनिश्चित गरे ।

सातदोबाटोको जित, आर्मी र संकटाको बराबरी

त्यस्तै आइतबार नै च्यासल स्टेडियममा भएको खेलमा सातदोबाटो युथ क्लबले न्युरोडटिम (एनआरटी) माथि २–१ को जित निकाल्यो । सातदोबाटोका लागि दुवै गोल दिपकराज सिंह ठकुरीले गरे । उता पराजित एनआरटीका लागि निकोलास संगले एक मात्र सान्त्वना गोल फर्काए ।

त्यस्तै दशरथ रंगशालामा आइतबार नै भएको पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अँक बाँडेका थिए ।

आइतबारको खेलहरुसँगै लिगको पहिलो चरणको खेलहरु सम्पन्न भएका छन् । लिगको दोस्रो चरणको खेलहरु फाुन २३ गतेदेखि शुचारु हुनेछन् ।

Post Comments