News लिगमा संकटाको पहिलो जित
गोलनेपाल

काठमाडौं । चर्चित खेलाडीहरुलाई अनुवन्ध गरेर सिजन शुरु हुनु अघि नै आफ्नो बलियो दावेदारीता पेश गरेको संकटा क्लबले लिगमा भने शनिबार पहिलो जित हात पारेको छ ।

च्यासल स्टेडियममा सम्पन्न खेलमा संकटाले नेपाल पुलिस क्लबमाथि ३–० को जित निकाल्यो । खेलको १२औं मिनटमा गणेश हमालको गोलबाट अग्रता बनाएको संकटाले थप दुई गोल खेलको अन्तिमतिर नाटकीय रुपमा थपेको थियो ।

८०औं मिनटमा रोशन पहाडीले दोस्रो गोल गर्दा ८६औं मिनटमा सुरज जिउ ठकुरीले तेस्रो गोल गर्दै संकटाको जित पक्का गरेका थिए । खेलमा सुरज जिउ ठकुरी म्यान अफ द म्याच पनि चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

सातदोबाटोको तेस्रो जित, फ्रेण्डस र एपिएफ बराबरीमा रोकिए

त्यस्तै दशरथ रंगशालामा भएको अर्को खेलमा सातदोबाटो युथ क्लबले फ्रेण्डस क्लबमाथि १–० को साँघुरो र संघर्षपुर्ण जित हात पार्यो । इन्जुरी समयमा दिपक सिंह ठकुरीले गरेको एक मात्र गोल सातदोबाटोलाई लगातार तेस्रो जित दिलाउन निर्णायक बन्यो ।

त्यसैगरी दशरथ रंगशाला मै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपिएफ एफसी र जावलाखेल युथ क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा एपिएफका अडामाले रातो कार्ड खाँदै मैदान छाड्दा विभागीय टोली दश खेलाडीमा खुम्चिए पनि जावलाखेलले त्यसको फाईदा उठाउन सकेन र अंक बाँड्न बाध्य बन्यो ।

Post Comments