News आर्मी र एनआरटीको ६ गोलको 'थ्रीलर'
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ आइतबार त्रिभुवन आर्मी फुटबल क्लब र न्युरोडटिम (एनआरटी) ले ३–३ गोलको थ्रीलर बराबरी खेल्दै अंक बाँड्ेका छन् ।

च्यासल स्टेडियममा भएको खेलको १४औं मिनट मै नवयुग श्रेष्ठको पेनाल्टी गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । त्यो अग्रता विभागीय टोलीले पहिलो हाफसम्म जोगाउन पनि सफल भयो । तर दोस्रो हाफमा भने गोलको वर्षा हुन पुगेको थियो ।

खेलको ५०औं मिनटमा लालनुनजामाले एनआरटीका लागि बराबरी गोल फर्काए । त्यसको ६ मिनट लगतै जिन एम्बुमीले पेनाल्टीबाट गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए । लगतै ६०औं मिनटमा लालनुनजामाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै खेलमा एनआरटीलाई ३–१ को अग्रता दिलाए ।

तर एनआरटीले त्यो अग्रता जोगाउन सकेन । ६६औं मिनटमा सुदिल राईले आर्मीका लागि दोस्रो गोल गरे भने खेलको अन्तिमतिर ८५औं मिनटमा दिनेश हेन्जनले तेस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।

यो नतिजापछि ३ खेलबाट ५ अंक जोडेको आर्मी लिगतालिकाको चौथो स्थानमा छ । उता एनआरटी भने पहिलो अंक जोड्दै ११औं स्थानमा छ ।

त्यस्तै आइतबार नै भएको अर्को खेलमा मनाङ मस्र्याङ्दी क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । यो नतिजापछि ३ खेलबाट १ अंक जोडेको मच्छिन्द्र रेलिगेशन क्षेत्रको १३औं स्थानमा छ । उता मनाङ भने ५ अंकका साथ पाँचौं स्थानमा छ ।

Post Comments