News सातदोबाटोको अपराजित यात्रामा थ्रीस्टार बाधक
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ विस्तारै लय समाउने संकेत देखाएको थ्रीस्टार क्लबले आफ्नो चौथो खेलमा दोस्रो जित हात पारेको छ । आइतबार दशरथ रंगशालामा बेलुका सम्पन्न दोस्रो खेलमा थ्रीस्टारले उत्कृष्ट लयमा रहेको सातदोबाटो युथ क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै सातदोबाटोको अपराजित यात्रामा पनि पूर्णविराम लगायो ।

खेलको ८९औं मिनटमा आदित्य शाक्यले गरेको एक मात्र गोल थ्रीस्टारलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । उता यो हारसँगै लगातार चौथो जित हात पार्ने सातदोबाटोको योजनामा पनि थ्रीस्टार बाधक बन्न पुग्यो ।

यो जितसँगै ४ खेलबाट ७ अंक जोडेको थ्रीस्टार लिगतालिकाको चौथो स्थानमा उक्लेको छ । उता पराजित सातदोबाटो भने हारका बावजुद ९ अंकका साथ दोस्रो थानमा छ ।

खुमलटारसँग शेर्पा स्तब्ध

त्यस्ते नवप्रवेशी टोली खुमलटारले पनि आइतबार लिगमा दोस्रो जित दर्ता गर्यो । च्यासल स्टेडियमा भएको खेलमा खुमलटारले हिमालयन शेर्पा क्लबमाथि २–१ को जित निकाल्यो ।

खेलको २२औं मिनटमा मनिष थापाको गोलबाट शुरुवाती अग्रता बनाएको खुमलटारले दोस्रो हाफमा थप एक गोल गरेको थियो । ६५औं मिनटमा स्टेफन बिनोङ्गले खुमलटारका लागि दोस्रो गोल गरे । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता शेर्पाका लागि कप्तान विश्वास श्रेष्ठले ८०औं मिनटमा एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यो जितसँगै ४ खेलबाट ६ अंक जोडेको खुमलटार लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता पराजित शेर्पा भने ४ अंकका साथ दशौं स्थानमा छ ।

Post Comments