News शनिश्चरे फुटबल क्लबलाई बेल्जियमबाट आर्थिक सहयोग
रमेश समदर्शी

शनिश्चरे फुटबल क्लबलाई बेल्जियमबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

हाल बेल्जियममा रहेका पूर्व राष्ट्रिय खेलाडी ज्ञानु थापामगरले क्लबलाई आर्थिक सहयोग प्रदान गरेका हुन् । झापा अर्जुनधारा ७ स्थायी घर भएका मगर विगत डेढ दशकदेखि बेल्जियममा छन् । उनले क्लबलाई नगद ४० हजार प्रदान गरेका हुन् ।

मगर बेल्जियममा रहेको युरो नेपाल स्पोर्टस एशाेसिएशनका अध्यक्ष हुन् । झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाको पहलमा क्लबलाई सहयोग प्राप्त भएको हो । बेल्जियमबाट प्राप्त रकम आज (मंगलबार) क्लबको कार्यालयमा अध्यक्ष मामा र मगरका दाजु लोकबहादुर मगरले क्लबका सचिव हरि गुरुङ र प्रशिक्षक पुष्प मादेनलाई हस्तान्तरण गरे । लामो समय नेपाल पुलिस क्लबमा आवद्ध रहेका मगर झापाबाट अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी भएको फुटबल प्रशिक्षक तथा संघका अध्यक्ष 'मामा' स्मरण गर्छन् ।

उनीसँगै अर्जुनधारा क्षेत्रबाट दिपेन्द्र ढकालले पनि राष्ट्रिय खेलाडीको रुपमा डेब्यू गरेको उनको भनाइ छ । शनिश्चरे फुटबल क्लब झापा जिल्ला लिग च्याम्पियन क्लब हो । क्लबले यसै सिजनमा मात्र चार वटा उपाधि जितिसकेको छ भने दुई साताअघि मात्र अर्जुनधारा नगर क्षेत्रमा यु-१८ वडास्तरीय फुटबल प्रतियोगिता सम्पन्न गरेको थियो ।

यसैगरी, प्रतियोगिताबाट छानिएका ५४ जनालाई भोलिदेखि तीन महिने तालिम सञ्चालन गर्दैछ । बेल्जियमबाट आएको सहयोग सोही तालिमका लागि खर्च गरिने क्लबका सचिव गुरुङले बताए । उनका अनुसार तालिम सञ्चालनका लागि आवश्यक खेल सामग्री र जर्सी खरिद गरिने छ ।

Post Comments