News चर्च ब्वाईजको शिर्षता कायमै, फ्रेण्डस र मच्छिन्द्रको पहिलो जित
गोलनेपाल

काठमाडौं । सम्भावित हारबाट जोगिएको चर्च ब्वाईज युनाइटेड क्लबले शहिद स्मारक ए डिभिजन लिगमा मंगलबार संकटा क्लबसँग बराबरी खेल्दै आफ्नो शिर्षतालाई यथावत राखेको छ ।

एन्फा कम्प्लेक्समा भएको खेलमा संकटाले निश्चित जितको अवसर गुमाउन पुग्यो । खेलको अन्तिमतिर संकटाले पेनाल्टीको अवसर पाए पनि मनिष डाँगीले त्यसलाई गोलमा परिणत गर्न नसक्दा दुवै टोलीले १–१ अंक बाँडे ।

यो नतिजापछि ४ खेलबाट १० अंक जोडेको अपराजित चर्च ब्वाईज लिगतालिकाको शिर्ष स्थानमा यथावत छ । उता संकटा भने ५ अंकका साथ सातौं स्थानमा छ ।

फ्रेण्डसको पहिलो जित, मच्छिन्द्रलाई पनि सफलता

त्यस्तै लिगमा मंगलबार फ्रेण्डस क्लबले पनि पहिलो जित हात पारेको छ । दशरथ रंगशालामा भएको खेलमा फ्रेण्डसले दश खेलाडीमा सिमित बनेको जावलाखेल युथ क्लबमाथि २–१ को जित निकाल्यो ।

फ्रेण्डसका लागि १९औं मिनटमा रफिक अमिनुले पहिलो गोल गरे । ३९औं मिनटमा कप्तान प्रकाश बुढाथोकीले दोस्रो गोल थपे जुन फ्रेण्डसका लागि निर्णायक पनि बन्यो । उता खेलको अन्तिमतिर ८७औं मिनटमा फोडे फोफनाले जावलाखेलका लागि एक गोल फर्काए तापनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

खेलमा जावलाखेल दश खेलाडीमा पनि खुम्चिएको थियो । कप्तान सिमान्त थापाले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा जावलाखेल एक खेलाडी कम भएर खेले तापनि फ्रेण्डसले त्यसको फाईदा उठाउन सकेन ।

यो नतिजापछि ४ खेलबाट ४ अंक जोडेको फ्रेण्डस १०औं स्थानमा उक्लेको छ । उता पराजित जावलाखेल भने ७ अंकका साथ तेस्रो स्थानमा छ ।

त्यसैगरी दशरथ रंगशाला मै बेलुका भएको अर्को खेलमा मच्छिन्द्रले नेपाल पुलिस क्लबमाथि २–१ को जित निकाल्यो । मच्छिन्द्रको जितमा ओलावाले आफिजले खेलको १९ र ४०औं मिनटमा निर्णायक दुई गोल गरे । यद्यपि खेलमा शुरुवाती अग्रता पुलिसले बनाएको थियो । दशौं मिनटमा अन्जन राईको गोलबाट अग्रता लिएको पुलिसले त्यसलाई जोगाउन नसक्दा अन्ततः पराजय बेहोर्न पुग्यो ।

मंगलबार लिगमा पहिलो जित निकालेको मच्छिन्द्र ४ खेलबाट ४ अंकका साथ रेलिगेशनबाट बाहिर निस्कदै १२औं स्थानमा उक्लेको छ । उता पराजित पुलिस भने अंकविहीन रुपमा पुछारमा छ ।

Post Comments