
काठमाडौं । खराब शुरुवात गरे तापनि नेपालले बंगलादेशमा जारी साफ यु–१७ महिला च्याम्पियनसिपमा आफ्नो उपाधि जित्ने सम्भावना कायम राखेको छ । पहिलो खेलमा भारतसँग ४–१ ले पराजित नेपालले बुधबार लिग चरणको दोस्रो खेलमा भुटानमाथि ५–० को प्रभावशाली जित निकाल्दै उपाधि होडलाई कायम राखेको हो ।
नेपालको जितमा उत्कृष्ट लयमा रहेकी बर्षा ओली र सेनु परियारले दुई–दुई गोल गरे । बर्षाले भारत विरुद्ध पनि एक मात्र गोल गरेकी थिईन् । त्यस्तै थप एक गोल दिपा रोकायाले गरिन् । खेलको १५औं मिनट मै बर्षाको गोलबाट नेपालले खेलमा अग्रता बनाएको थियो । २९औं मिनटमा दिपाले त्यो अग्रता दोब्बर पारिन् । ३४औं मिनटमा सेनु परियारले नेपालको अग्रता तेब्बर पारिन् । पहिलो हाफसम्म नेपालले त्यही अग्रता कायम पनि राख्यो ।
त्यस्तै ४९औं मिनटमा बर्षाले नै व्यक्तिगत दोस्रो तथा नेपाली टोलीका लागि चौथो गोल गरिन् भने ५७औं मिनटमा सेनु परियारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौं गोल गर्दै नेपालको उत्कृष्ट जित पक्का गरिन् ।
नेपालले आफ्नो आगामी खेल १२ गते रसियासँग खेल्नेछ । स्मरण रहोस, रसियाले बुधबार नै भएको आफ्नो पहिलो खेलमा आयोजक बंगलादेशमाथि ३–० को जित हात पारेको थियो ।
अतिथी टोली रसिया सहित दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश र भुटान गरी कुल ५ टोली सहभागि प्रतियोगिताको शिर्ष स्थान हासिल गर्ने टोली विजेता बन्नेछ ।