News एनआरटीको पोष्टमा मनाङको चार गोल
गोलनेपाल

काठमाडौं । अन्जन बिष्टले दुई गोल गरेको खेलमा साविक विजेता मनाङ मस्र्याङ्दी क्लबले ए डिभिजन लिगतर्फ आइतबार उत्कृष्ट जित निकालेको छ । एन्फा कम्प्लेक्स, सातदोबाटोमा भएको एक मात्र खेलमा मनाङले न्युरोडटिम (एनआरटी) लाई ४–१ ले हरायो ।

पहिलो हाफ नै बराबरीतर्फ लम्किरहेका बेला ३५औं मिनटमा बिमलल रानाले मनाङका लागि गोलको खाता खोलेका थिए । ४३औं मिनटमा अन्जन बिष्टले त्यो अग्रता दोब्बर पारे । पहिलो हाफसम्म मनाङले २–० को अग्रता कायम राख्न सफल भएको थियो ।

यद्यपि दोस्रो हाफको ६५औं मिनटमा अन्जन बिष्टले नै व्यक्तिगत दोस्रो तथा मनाङका लागि तेस्रो गोल गरे । उता खेलको ८९औं मिनटमा एनआरटीका लागि सकल रेग्मीले एक मात्र सान्त्वना गोल फर्काए । तर, त्यो सान्त्वना गोल गरे तापनि एनआरटीले चौथो गोल इन्जुरी समयमा खान पुगेको थियो ।

मनाङका लागि दुई गोल गरेका अन्जन बिष्ट नै म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत दश हजार र ट्रफी प्राप्त गरे ।

मनाङका लागि इन्जुरी समयको ९४औं मिनटमा दयानन्द सिंहले चौथो गोल गरे । जुन खेलको अन्तिम गोल पनि बन्यो । यो जितसँगै ११ खेलबाट २२ अंक जोडेको मनाङ तेस्रो स्थानमा छ र शिर्ष स्थानमा रहेको आर्मी भन्दा ४ अंकले पछि छ । उता पराजित एनआरटी भने १५ अंकका साथ सातौं स्थानमा छ ।

Post Comments