News मनाङ खप्तड गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

धनगढी । मनाङ मस्र्याङ्दी क्लब जारी छैठौं मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनलमा मनाङले बागमती युवा क्लब, सर्लाहीमाथि २–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।

धनगढी रंगशालामा भएको खेलको ३७औं मिनटमा टिमोथी कुडोको गोलबाट मनाङले नै खेलमा अग्रता बनाएको थियो । यद्यपि त्यसको चार मिनट लगतै सुजन गौतमले बागमतीका लागि गोल गर्दै खेललाई पहिलो हाफ मै रोमाञ्चक बराबरीमा ल्याएका थिए ।

तर दोस्रो हाफतर्फ ६६औं मिनटमा उज्वेक मिडफिल्डर सैजामोल दवलाजोनेवले मनाङका लागि दोस्रो तथा निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाएका थिए । मनाङले अब पहिलो सेमिफाइनलतर्फ चैत १५ गते एभनिर एफसी, क्यामरुनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तरगत चैत १४ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल आयोजक सुदूरपश्चिम–११ र नेपाल पुलिस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सुदुूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल चैत १८ गतेका दिन हुनेछ ।

Post Comments