News फराकिलो जितका साथ मनाङ फाइनलमा
गोलनेपाल

धनगढी । मोफसलमा उत्कृष्ट लयमा देखिएको मनाङ मस्र्याङ्दी क्लब जारी छैठौं मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा मनाङले एभनिर एफसी, क्यामरुनमाथि ६–० को फराकिलो जित निकाल्दै उपाधि नजिक पुगेको हो ।

खेल शुरु हुनु अघि नै एभनिरलाई भने ठूलो धक्का लाग्न पुगेको थियो । आवश्यक प्रक्रिया र कागजात नपुगेको भन्दै एभनिरका दुई खेलाडीले खेल्न नपाउने भएपछि अफ्रिकी टोली ९ खेलाडीका साथ मैदानमा उत्रिएको थियो ।

धनगढी रंगशालामा भएको खेलको १२औं मिनटमा जिवन गुरुङको गोलबाट मनाङले खेलमा अग्रता बनाएको थियो । यद्यपि खेलमा एभनिर थप निरीह बन्यो । जोर्डन जुनियर र गोलरक्षक विल्सनले रातो कार्ड खाँदै मैदान छाड्दा अफ्रिकी टोली ७ खेलाडीमा खुम्चिन पुगेको थियो । जसको फाईदा मनाङले उठायो ।

५४औं मिनटमा प्रशन्न श्रेष्ठले मनाङका लागि दोस्रो गोल गरे । त्यस्तै उज्वेक मिडफिल्डर सैदजामोल दवलाजोनेवले ५९, ६७ र ७७औं मिनटमा लगातार तीन गोल गर्दै मनाङको अग्रतालाई थप बलियो बनाए । ८१औं मिनटमा अनिल गुरुङ्गले मनाङका लागि छैठौं गोल गर्दै टोलीको फराकिलो जित पक्का गरे ।

खेलमा ह्याट्रिक गरेका मनाङका सैदजामोल दवलाजोनेव म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत चैत १६ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल आयोजक सुदुरपश्चिम–११ र थ्रीस्टार क्लबबीच हुनेछ ।

यही चैत १८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २१ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

 

Post Comments