News एभरेष्ट क्लब चितवन क्वाटरफाइनलमा
गोलनेपाल

बर्दघाट । हानामी एभरेष्ट क्लब, चितवन जारी पाँचौं सुर्यनगर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बर्दघाट–१६ सुर्यनगर स्थित सुर्यनगर रंगशालामा आइतबार भएको खेलमा एभरेष्टले स्वाभिमान युथ क्लब, दाङलाई २–० ले हरायो । चितवनको जितमा पहिलो हाफको २४औं मिनटमा रोशन क्षेत्रीले गोल गरे भने दोस्रो हाफको २८औं मिनटमा सन्दिप थापा मगरले दोस्रो गोल गरे ।

खेलमा एभरेष्टका सन्दिप थापा मगर म्यान अफ द म्याच घोषित भए । यो जितसँगै एभरेष्ट प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तरगत माघ २७ गते सोमबारको प्रिक्वाटरफाइनल खेल अभिषेक चर्च, नवलपुर र फर्साटिकर युवा क्लब, रुपन्देहीबीच हुने आयोजकले जनाएको छ ।

नव युवा क्लब, बर्दघाट–१६ सुर्यनगरको आयोजना तथा बर्दघाट नगरपालिकाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । कुल १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन ७ गते हुनेछ ।

 

Post Comments