News थ्रीस्टार बन्यो खप्तड गोल्डकप च्याम्पियन्स
गोलनेपाल

धनगढी । शनिबार सम्पन्न मोफसल कै प्रतिष्ठित मध्ये एक छैठौं मूख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि थ्रीस्टार क्लबले जितेको छ । उपाधि जित्ने क्रममा थ्रीस्टारले चिरप्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई २–० ले हरायो ।

धनगढी रंगशालामा भएको खेलमा थ्रीस्टारका लागि ७३औं मिनटमा अनिल महर्जन र अन्तिमतिर इन्जुरी समयमा कप्तान बिक्रम लामाले एक–एक गोल गर्दै पाटने क्लबको जित सुनिश्चित गरेका थिए । पहिलो गोलकर्ता अनिल महर्जन फाइनल खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसवापत उनले नगद १० हजार र ट्रफी हात पारे ।

विजेता बनेको थ्रीस्टारले उपाधिसहित नगद २१ लाख हात पार्यो भने उपविजेता मनाङले १० लाखमा चित्त बुझायो । थ्रीस्टारका बिक्रम लामा सर्वोत्कृष्ट खेलाडी चुनिए । त्यसवापत उनले नगद १ लाख र ट्रफी हात पारे ।

अन्य व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलरक्षक थ्रीस्टारका मोहमद ताहा चुनिए भने उत्कृष्ट डिफेन्डर पनि थ्रीस्टार कै पिटर सेगुन घोषित भए । उत्कृष्ट मिडफिल्डर मनाङका भिसन गुरुङ्ग बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि मनाङ कै सैदजामोल दवलातजोनेवले हात पारे ।

त्यसैगरी उदियमान खेलाडीको पुरस्कार आयोजक सुदुरपश्चिम–११ का दिपैन्द्र मलासी चुनिए भने उत्कृष्ट प्रशिक्षक थ्रीस्टार क्लबका मेघराज केसी घोषित भए ।

सुदुरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा चैत ९ गतेदेखि शुरु भएको प्रतियोगितामा दुई विदेशीसहित १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments