News संकटा र एपिएफलाई सफलता, पुलिसको खराब लय जारी
गोलनेपाल

काठमाडौं । सोमबारदेखि सुचारु भएको शहिद स्मारक ए डिभिजन लिगतर्फ छैठौं चरणको शुरुवाती दुई खेलहरुमा संकटा क्लब र एपिएफ फुटबल क्लबले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

लिगमा दोस्रो जित हात पार्ने क्रममा संकटाले नवप्रवेशी टोली एफसी खुमलटारमाथि १–० को जित हात पार्यो । एन्फा कम्प्लेक्समा भएको खेलको २७औं मिनटमा जुनियर एन्केन्गुईले गरेको एक मात्र गोल संकटालाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो ।

यो जितपछि ६ खेलबाट ९ अंक जोडेको संकटा लिगतालिकाको छैठौं स्थानमा छ । उता पराजित खुमलटार भने ६ अंकका साथ नवौं स्थानमा छ ।

एपिएफसँग पुलिस निराश

त्यस्तै सोमबार नै च्यासल स्टेडियममा भएको विभागीय भिडन्तमा एपिएफले पुलिस क्लबलाई २–० ले हरायो । एपिएफले दुवै गोल दोस्रो हाफमा गर्यो । ५७औं मिनटमा हरि कार्कीले पहिलो गोल गरे भने इन्जुरी समयमा सबिन गुरुङले दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

यो जितपछि ६ खेलबाट १० अंक जोडेको एपिएफ लिगतालिकाको पाँचौं स्थानमा उक्लेको छ । उता खराब लयबाट गुज्रिरहेको पुलिस भने १ अंकका साथ पुछार मै संघर्षरत छ ।

 

Post Comments