काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ यस सिजन उत्कृष्ट लयमा रहेको शिर्ष स्थानको टोली सातदोबाटो युथ क्लबलाई मंगलबार झट्का लागेको छ । एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोले जावलाखेल युथ क्लबसँग १–२ को हार बेहोर्यो ।
जावलाखेलका लागि ४३औं मिनटमा फोडे फोफनाले पहिलो गोल गरे भने ४९औं मिनटमा एन्कोटो मसाबीले दोस्रो गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल पनि बन्यो । उता सातदोबाटोका लागि उदाउँदा दिपकराज सिंह ठकुरीले ७५औं मिनटमा एक गोल फर्काए तापनि प्रर्याप्त बनेन ।
यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको जावलाखेल शिर्ष स्थानमा उक्लेको छ । पराजित सातदोबाटो भने १२ अंकका साथ तेस्रो स्थानमा झरेको छ ।
त्यस्तै मंगलबार नै च्यासल स्टेडियममा भएको खेलमा न्युरोडटिम (एनआरटी) र चर्च ब्वाईज युनाइटेडले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे ।
दुई गोलको स्पष्ट अग्रता जोगाउन नसकेको चर्च ब्वाईजले अन्ततः अंक बाँड्न बाध्य बन्यो । १९औं मिनटमा आशिष चौधरीको गोलबाट चर्च ब्वाईजले अग्रता लिएको थयो । ६१औं मिनटमा अनन्त तामाङले दोस्रो गोल थपेका थिए ।
यद्यपि खेलमा उत्कृष्ट पूनःरागमन गरेको एनआरटीका लागि ७१औं मिनटमा रोहन खड्गीले पहिलो गोल गरे भने खेलको इन्जुरी समयमा सरोज तामाङले दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए ।
यो नतिजापछि ६ खेलबाट १२ अंक जोडेको चर्च ब्वाईज लिगतालिकाको दोस्रो स्थानमा छ । सातदोबाटोसँगै समान अंक भए तापनि राम्रो गोल भिन्नताका आधारमा चर्च ब्वाईज अगाडी छ । त्यस्तै एनआरटी भने ३ अंकका साथ रेलिगेशन क्षेत्रको १३औं स्थान मै संघर्षरत छ ।