News कचनकवल गोल्डकप शुरु, रेड हर्षको विजयी शुरुवात
गोलनेपाल

भद्रपुर । नेपालकै होचो भू–भाग कचनकवलमा सोमबारदेखि तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । उद्घाटन खेलमा जलथल फुटबल क्लब झापालाई १–२ ले पराजित गर्दै रेड हर्ष फुटबल क्लब इलामले विजयी शुरुवात गरेको छ । साथै यो जितसँगै रेड हर्ष प्रतियोगिताको क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ ।

खेलको पहिलो हाफतर्फ २६औ मिनेटमा इलामका किस्मत राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ३६औ मिनेटमा राईले नै थप एक गोल गरे । उता जलथलका लागि सरोज कार्कीले खेलको ५१औ मिनेटमा एक मात्र गोल फर्काएका थिए ।

खेलको म्यान अफ द म्याच इलामका किस्मत राई घोषित भए । उनले पुरस्कार वापत नगद दुई हजार प्राप्त गरे । आउँदो फागुन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद एक लाख ५० हजार हात पार्नेछ भने उपविजेताले एक लाख नगद हात पार्नेछ ।

भ्रमण वर्षलाई लक्षित गरि कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग तथा बनियानी युवा क्लबको आयोजनामा सुरु प्रतियोगिताको उद्घाटन प्रदेश सांसद वसन्त बानिया र ओमप्रकाश सरावगीले गरेका थिए ।

 

Post Comments