News ए डिभिजन लिगमा चेन्चोको डेब्यु
गोलनेपाल

काठमाडौं । ‘भुटानी रोनाल्डो’ उपनामले चर्चित भुटानका स्टार फरवार्ड चेन्चो ग्याल्सेनले शहिद स्मारक ए डिभिजन लिगतर्फ बिहीबार नेपाली घरेलु फुटबलमा डेब्यु गरे । डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबमा आवद्ध २६ वर्षिय चेन्चोको डेब्यु खेल त्यति सुखद भने बन्न सकेन ।

हिमालयन शेर्पा क्लब विरुद्ध डेब्यु गरेका चेन्चोले गोलको खाता भने खोल्न सकेनन् । एक समय हारको संघारमा पुगेको मच्छिन्द्रका लागि बिमल घर्ती मगरले इन्जुरी समयमा बराबरी गोल गर्दा शेर्पासँग १–१ को बराबरी खेल्दै चेन्चोको सम्भावित हारबाट जोगिएको थियो ।

भर्खरै सम्पन्न चर्चित आई लिगमा राउण्डग्लास पञ्जाब एफसीलाई लिग च्याम्पियन बनाएर नेपाललाई नयाँ गन्तव्य बनाएका चेन्चोसँग आफूलाई प्रमाणित गर्ने अवसर भने अझै बाँकी छ । मैदानमा राम्रा फिनिसरका रुपमा पनि परिचित चेन्चोले मच्छिन्द्रलाई यस सिजन कुन स्थानमा पुर्याउने छन्, त्यो भने हेर्न बाँकी छ ।

स्मरण रहोस, जारी ए डिभिजन लिगमा ६ खेल खेलिसकेको मच्छिन्द्रले केवल एक खेलमा मात्र जित हात पारेको छ । तीन बराबरी र दुई हार बेहोरेको मच्छिन्द्र हाल लिगतालिकाको दशौं स्थानमा छ । र रेलिगेशन क्षेत्रभन्दा तीन स्थान मात्र माथी छ ।

Post Comments