News आठौं ओसन कपको तयारी पूरा
गोलनेपाल

गोरखा । गोरखा मेयर युवा फुटबल विकास कार्यक्रम अन्तरगत हरेक वर्ष आयोजना हुँदै आएको ओसन कपको आठौंं संस्करण यही चैत २७ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ ।

आयोजक द ओसन क्लब, गोरखाको आयोजनामा हुन गईरहेको प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक क्लबका अध्यक्ष अमित खत्रीले जानकारी दिए । प्रतियोगितामा देशभरिका उत्कृष्ट १२ युथ टोलीहरुको सहभागिता रहने पनि अध्यक्ष खत्रीले जानकारी दिए ।

आयोजक क्लबकै कृत्रिम घाँसे मैदानमा लिग कम नकआउटका आधारमा हुने हुने प्रतियोगितामा सहभागिता जनाउने टोलीहरुको आवास, खाना तथा यातायात खर्च आयोजकले नै बेहोर्ने पनि अध्यक्ष खत्रीले बताए ।

युवा फुटबल खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न तथा क्षमतावान खेलाडीहरुको क्षमता पहिचान गरी उनीहरुलाई राम्रो फुटबल खेलाडी बनाउने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई निरन्तरता दिइएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २० हजार हात पार्नेछ भने उपविजेताले १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । साथै प्रतियोगिताको सबै खेलहरु गोलनेपालले प्रत्यक्ष प्रसारण पनि गर्नेछ ।

Post Comments