News गोलबजार दोस्रो गैडहवा अध्यक्ष कपको फाइनलमा
सुरज राना मगर

गैडहवा । प्रभावशाली जितका साथ गोलबजार फुटबल क्लब यहाँ जारी दोस्रो गैडहवा अध्यक्ष कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा गोलबजारले लिस्नु युवा क्लब, कोटिहवालाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

गैडहवा–८, देवीनगर स्थित स्थानीय खेलमैदानमा भएको खेलमा गोलबजारका लागि बिनु आले मगर, सुजन पुलामी र उद्धव घलेले एक–एक गोल गर्दै टोलीको प्रभावशाली जित र फाइनल स्थान सुनिश्चित गरेका थिए ।

खेलमा गोलबजारका बिनु आले मगर म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तरगत बैशाख ७ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र राईजिङ्ग स्टार एफसी, नवलपरासीबीच हुने खेल संयोजक प्रकाश हमालले जानकारी दिए ।

न्यु एभरेष्ट युवा क्लब, गैडहवाको आयोजना तथा गैडहवा गाउँपालिका, बिष्णुपुरा–३, रुपन्देहीको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,०२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,०१,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख ९ गतेका दिन हुनेछ ।

Post Comments