News लिगमा तीन विभागीय टोलीहरुको खेल आज
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारदेखि ११औं चरणका खेलहरु शुरु हुँदैछन् । जस अन्तरगत आज दुई खेलहरु हुँदैछन् । च्यासल स्टेडियममा न्युरोडटिम (एनआरटी) र एपिएफ भिड्ने छन् भने एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लब भिड्ने छन् ।

पछिल्ला दुई खेलहरुमा राम्रो लय समातेको एनआरटीले आज लिगको तेस्रो जित निकाल्ने योजनामा हुनेछ । दश खेलबाट १० अंक जोडेको एनआरटी हाल ११औं स्थानमा छ र शुक्रबार एपिएफ विरुद्ध सकरात्मक नतिजा निकाल्दै स्थान सुधारको प्रयासमा हुनेछ । उता १४ अंकका साथ आठौं स्थानमा रहेको एपिएफको पनि आज आफू अनुकुल नतिजा निकालेर शिर्ष स्थानमा रहेका टोलीहरुलाई दबाब र चुनौति दिने योजनामा हुनेछ ।

त्यस्तै अर्को खेलमा भने आर्मीलाई केही सहज देखिएको छ । ५ अंकका साथ पुछारमा संघर्षरत पुलिस विरुद्ध १५ अंकसहित पाँचौं स्थानमा रहेको आर्मी पूर्ण हावी हुने अनुमान गरिएको छ । तर पनि दुवै टोली निश्चित जित वा अंकका लागि मैदानमा उत्रिने छन् । पुलिसलाई रेलिगेशनबाट जोगिने चुनौति पनि हुनेछ भने आर्मीको लक्ष्य शिर्षताको होडमा उभिने हुनेछ ।

दुवै खेलहरु ३ बजेदेखि शुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

Post Comments