News मदन मेलामा माछा पोखरी, मुनाल, फेदाप, झापा र जिरिखिम्ती विजयी
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा जारी ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगितामा आइतबार पाँच टोली विजयी भएका छन् ।

त्रिमोहन माविको प्रांगणमा आयोजित प्रतियोगितामा झापाको आदर्श युवा क्लब बुद्धशान्तिले आठराई ६ चुहानडाँडालाई पराजित गर्यो । उसका लागि खेलको १५औँ मिनेटमा पाएको पेनाल्टी अवसरमा अतित आङ्वोले गोल गरेका हुन् ।

यस्तै, ताप्लेजुङको माछा पोखरी हिटी क्लबले धरानको डिएफएफमाथि ४-० गोलको शानदार जित दर्ता गर्यो । खेलको १३औँ मिनेटमा पाएको पेनाल्टी अवसरबाट ताप्लेजुङले अग्रता लिएको थियो । धरानका दोर्जे तामाङले पेनाल्टी एरियामा हातले बल रोकेपछि रातो कार्ड पाएका थिए । पेनाल्टीमा सुशिल लिम्बूले गोल गरे । ताप्लेजुङका लागि लाहान लिम्बूले १६औँ मिनेट, आशिष लिम्बूले ३५औँ र ताङसाङ लिम्बूले खेलको ५८औँ मिनेटमा गोल गरेर टोलीको जित सुनिश्चित गरेका हुन् । यसैगरी, थक्लुङको नाम्जान एबीमाथि ४-१ गोलको नतिजाबाट फेदाप जलजलेको मुनालय युथ क्लबले जित दर्ता गर्यो । मुनालका लागि सिमोन राईले खेलका ५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३३औँ र ५३औँ मिनेटमा रोशन बर्देवाले व्यक्तिगत दोस्रो गोल गरे । यसअघि खेलको ३४औँ मिनेटमा सन्दिप रसाइलीले एक गोल गरेका थिए । थोक्लुङका लागि अमित विकले खेलको ३२औँ मिनेटमा सान्त्वना गोल गरेका थिए ।

यसैगरी, फेदाप गाउँपालिकाले श्रीजंघा राया पापो समाज इवामाथि टाइब्रेकरमा बाजी मार्यो । खेलको १६औँ मिनेटमा इवाका रोशन बानियाँले गोल गरेर अग्रता लिए पनि फेदापले खेलको ३४औँ मिनेटमा सन्देश राईले गोल गर्दै बराबरी गरेका थिए । तर, इवाका दुई खेलाडीको प्रहार बाहिरिनु र विपक्षी गोलरक्षकले एउटा प्रहार रोक्दा फेदाप विजयी भयो । फेदापका लागि डेविड गिरी, सुमन लिम्बू र सुलभ लिम्बूले गोल गरे । प्रदिवास इङनामको प्रहार बाहिरिँदा निरज ओलीको प्रहार क्रस बारमा लाग्दै भित्रिएको थियो । यस्तै, योगेन्द्र तामाङको प्रहार फेदापका गोलरक्षक साङ्गेन लिम्बूले रोकेका थिए । इवाका लागि रोशन बानियाँको प्रहारमात्र गोलमा परिणत भएको थियो । आजै भएको अन्तिम खेलमा जिरिखिम्तीले आठराई ४ को लाफा समूहमाथि १-० गोलको कठिन जित दर्ता गर्यो । खेलको १०औँ मिनेटमा जिरिखिम्तीका लागि विशाल काफ्लेले गरेको गोल नै निर्णायक बन्यो । फुटबलको पुरुषतर्फ २२ वटा टिमले सहभागिता जनाएका छन् ।

विजेता टिमले नगद २ लाख र ट्रफी पाउँदा उपविजेताले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, महिला फुटबलतर्फ ४ वटा टोलीले सहभागिता जनाउने भएका छन् । विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । यस्तै, गाउँपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमतर्फ खुल्ला पुरुष नृत्य प्रतियोगिता, धान नाच प्रतियोगिता, पुरुष ब्याडमिनटन डबल, महिला ब्याडमिन्टन सिंगल, खुल्ला कविता वाचन प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ ।

पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार र ट्रफी पाउने छ । अन्य खेलकुद तथा सांस्कृति प्रतियोगिताका विजेता र उपविजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments