News तेह्रथुम: मदन मेलामा चाँगे र जिरिखिम्ती सेमिफाइनलमा
रमेश समदर्शी

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा जारी ऐतिहासिक आठराई मदन मेला २०८० को अवसरमा आयोजित पुरुष फुटबल प्रतियोगितामा सोमबारको खेलबाट माछा पोखरी हिटी क्लब चाँगे ताप्लेजुङ र जिरिखिम्ति युथ क्लब सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिमोहन माविको प्रांगणमा आयोजित प्रतियोगितामा माछा पोखरी हिटी क्लब चाँगे ताप्लेजुङले फेदाप गाउँपालिकामाथि १-० गोलको कठिन जित निकालेको हो । माछा पोखरी हिटी क्लब चाँगे ताप्लेजुङका लागि सुशिल लिम्बूले खेलको ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जिरिखिम्तिी युथ क्लबले मुनाल युथ क्लब फेदाप जलजलेलाई २-१ गोलले स्तब्ध बनाउँदै सेमिफाइनल यात्रा तय गरेको हो । फेदापसँग १-० ले पछि परेको स्थितिलाई उल्टाउँदै जिरिखिम्तिी युथ क्लबले अन्तिम चारमा स्थान सुरक्षित गर्यो । खेलको ४२औँ मिनेटमा फेदापका सन्दिप रसाइलीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४८औँ मिनेटमा जिरिखिम्तिीका सुवास पयाङ्गुले गोल गर्दै खेललाई बराबरीमा फर्काए । प्रतिस्पर्धात्मक खेलमा जिरिखिम्तिीका विपेन गुरुङले ५१औँ मिनेटमा गोल गर्दै टिमको जित निकाले । उनी परिवर्तित खेलाडी हुन् ।

यसअघि भएको प्रिक्वाटर फाइनल खेलमा गिरी समाज खाम्लालुङले शारदा मावि आठराईलाई ४-२ गोल अन्तरमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । गिरी समाज खाम्लालुङका लागि जमिन लिम्बूले खेलको पहिलो मिनेट र २२औँ मिनेटमा व्यक्तिगत दुई गोल गरे भने खेलको २६औँ मिनेटमा दिनेश शेर्मा र ४१औँ मिनेटमा विशाल भण्डारीले गोल गरेका थिए । शारदा माविका लागि सुशन जवेगुले खेलको ३१औँ मिनेटमा गोल गरे पनि खेलमा फर्कन भने सकेन । यसैबीच, गिरी समाज खाम्लालुङले क्वाटरफाइनल खेलमा लिसिबुङ एफसीसँग बराबरी खेलको छ । समय अभावले बाँकी १५ मिनेटको खेल मंगलबार हुने आयोजकले जनाएको छ । यस्तै, आजै भएको प्रिक्वाटर खेलबाट फोम्बो आवाजुङ कल्याणकारी समाज खाम्लालुङले शानदार जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश पाएको छ । उसले स्पर्धी फेदाप जलजलेको एफसी तिनधारेमाथि ६-२ गोलअन्तरको जित निकालेको हो ।

फोम्बो समाजका लागि खेलको पहिलो मिनेटमै निरश लिङदेनले गोल गरेका थिए भने खेलको ११औँ मिनेटमा समिर तामाङले गोल गरेका हुन् । यस्तै, २१औँ मिनेटमा प्रदिप फोम्बोले गोल गरेर ३-० गोलको अन्तर निकाले । फोम्बो समाजकै सुशिल राई, सन्तु फोम्बो, र सुनिल चोङबाङले ११ गोल गरे । तिनधारेका लागि सौरभ लिम्बू र समिर लिम्बूले मात्र गोल गरेका थिए । फुटबलको पुरुषतर्फ २२ वटा टिमले सहभागिता जनाएका छन् ।

विजेता टिमले नगद २ लाख र ट्रफी पाउँदा उपविजेताले नगद १ लाख ३० हजार र ट्रफीमा चित्त बुझाउनु पर्नेछ । यस्तै, महिला फुटबलतर्फ ४ वटा टोलीले सहभागिता जनाउने भएका छन् । विजेताले नगद ८० हजार र उपविजेताले नगद ५० हजार र ट्रफी पाउने आयोजकले जनाएको छ । यस्तै, गाउँपालिकास्तरीय पुरुष फुटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रमतर्फ खुल्ला पुरुष नृत्य प्रतियोगिता, धान नाच प्रतियोगिता, पुरुष ब्याडमिनटन डबल, महिला ब्याडमिन्टन सिंगल, खुल्ला कविता वाचन प्रतियोगिता र लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ ।

पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार र ट्रफी पाउने छ । अन्य खेलकुद तथा सांस्कृति प्रतियोगिताका विजेता र उपविजेतालाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments