News मच्छिन्द्र, संकटासहित चार क्लब एन्फाको कारवाहीमा
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मच्छिन्द्र फुटबल क्लब, संकटा क्लब, एपिएफ फुटबल क्लब र लिगको नवप्रवेशी टोली एफसी खुमलटारलाई कारवाही गरेको छ । एन्फाको अनुशासन कमिटीले जारी शहिद स्मारक ए डिभिजन लिगमा विभिन्न घट्नाक्रमबारे छानविन गरी ती क्लबहरुलाई कारवाही गरिएको बताएको छ ।

अनुशासन कमिटीले संकटा क्लबलाई कारवाही स्वरुप १० हजार जरिवाना गरेको छ । लिग अन्तरगत बैशाख ३ गते एपिएफ क्लब विरुद्धको खेलमा संकटाको गोलरक्षकको जर्सीलाई लिएर २६ मिनट खेल ढिला हुनु र त्यसले प्रत्यक्ष प्रसारणमा पनि कठिनाई थपिएको भन्दै एन्फाले संकटालाई कारवाही स्वरुप जरिवाना तिराएको हो ।

कमिटीले सोही खेलको दोस्रो हाफतर्फ खेलमा दुई मिनट ढिलाई गरेको भन्दै एपिएफलाई पनि पाँच हजार जरिवाना गरेको छ । सो खेलका क्रममा एपिएफका एक अफिसियल जिवेश पाण्डे मैदानमा प्रवेश गर्दा खेल सुचारु गर्न ढिलाई भएको अनुशासन कमिटीको ठहर छ ।

त्यस्तै एपिएफका अफिसियल जिवेश पाण्डेले बैशाख ६ गते भएको मच्छिन्द्र विरुद्धको खेलका क्रममा फोर्थ अफिसियल ज्ञान बहादुर मोक्तानमाथि हातपात गरेको भन्दै पाण्डेलाई ८ खेलको निलम्बन र १० हजार जरिवाना गरेको हो ।

त्यसैगरी चैत २८ गते मच्छिन्द्र फुटबल क्लब विरुद्ध कै खेलमा एफसी खुमलटारले ड्रेसिङ रुममा रहेको कुर्सीहरुमा क्षति पुर्याएको भन्दै खुमलटारलाई १० हजार जरिवाना गरेको छ । स्मरण रहोस, च्यासल स्टेडियममा भएको सो खेलमा खुमलटारले मच्छिन्द्र विरुद्ध ७–३ को हार बेहोरेको थियो ।

अनुशासन कमिटीले मच्छिन्द्रलाई पनि कारवाही गरेको छ । लिग अन्तरगत बैशाख २ गते न्युरोडटिम (एनआरटी) विरुद्धको खेलमा रेफ्रीमाथि आक्रमक व्यवहार देखाएको भन्दै कमिटीले मच्छिन्द्रलाई १० हजार जरिवाना गरेको हो । स्मरणीय छ, सो खेलमा मच्छिन्द्र र एनआरटीले १–१ गोलको बराबरी खेलेका थिए ।

Post Comments