News प्रभावशाली जितका साथ नमो बुद्ध सेमिफाइनलमा
गोलनेपाल

बिर्तामोड । प्रभावशाली जित हात पार्दै नमो बुद्ध युवा क्लब, सप्तरी यहाँ जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने तेस्रो टोली बनेको छ ।

सोमबार भएको तेस्रो क्वाटरफाइनलमा नमो बुद्धले ताप्लेजुङ फुटबल क्लबलाई ५–३ ले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । महेन्द्र ज्योति माविको खेलमैदानमा भएको खेलमा नमो बुद्धको जितमा रजनी थोकर र संगीता सुनारले दुई–दुई गोल गरिन् । थप एक गोल भने इशा मगरले गरेकी थिईन् ।

उता पराजित ताप्लेजुङका लागि कप्तान सुजाता पालुङवाले दुई गोल गरिन् भने थप एक गोल संगीता गुरुङले गरेकी थिईन् । गुरुङले ताप्लेजुङका लागि पेनाल्टीबाट गोल गरेकी थिईन् । खेलमा नमो बुद्धकी रजनी थोकर प्लेयर अफ द म्याच घोषित भईन् । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारिन् ।

प्रतियोगिता अन्तरगत बैशाख १२ गते मंगलबारको अन्तिम क्वाटरफाइनल खेल गाइघाट फुटबल क्लब, उदयपुर र धनकुटा जिल्ला फुटबल संघबीच हुने आयोजकले जानकारी दियो ।

अल इन वान क्लब, बिर्तामोडको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार प्राप्त गर्नेछ । झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको प्रतियोगिताको फाइनल खेल यही बैशाख १६ गतेका दिन हुनेछ ।

Post Comments