News शिर्ष तीनमा उक्लियो आर्मी
गोलनेपाल

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगतर्फ त्रिभुवन आर्मी फुटबल क्लबले मंगलबार महत्वपूर्ण जित निकाल्दै लिगतालिकाको शिर्ष तीनमा उक्लिन सफल भएको छ । दशरथ रंगशालामा बेलुका सम्पन्न दिनको तेस्रो खेलमा आर्मीले चर्च ब्वाईज युनाइटेडलाई १–० ले हराउँदै तेस्रो स्थान कब्जा गर्न सफल भएको हो ।

पहिलो हाफको ११औं मिनटमा जिलेस्पी जंग कार्कीले गरेको एक मात्र गोल आर्मीलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक बन्यो । यो जितसँगै १२ खेलबाट १९ अंक जोडेको आर्मी तेस्रो स्थानमा उक्लेको छ र लिगलिडर जावलाखेलभन्दा चार अंकले मात्र पछाडी छ । यद्यपि जावलाखेलले एक खेल कम खेलेको छ । पराजित चर्च ब्वाईज भने १८ अंकका साथ चौथो स्थानमा खस्केको छ ।

मंगलबार नै एनआरटीमाथि ३–१ को जित निकालेको फ्रेण्डस १४ अंकका साथ १०औं स्थानमा पुगेको छ । पराजित एनआरटी भने १३ अंकका साथ ११औं स्थानमा छ । त्यस्तै मंगलबार अर्को खेलमा मनाङलाई हराएको पुलिस ९ अंकका साथ पुछार मै संघर्षरत रहँदा पराजित मनाङ १५ अंकका साथ आठौं स्थानमा यथावत छ ।

Post Comments