News प्रभावशाली जितका साथ सलहेश सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । प्रभावशाली जितका साथ सलहेश युवा क्लब, सिरहा यहाँ जारी छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार गोलबजार खेलग्राममा भएको क्वाटरफाइनल खेलतर्फ सलहेशले प्रकाशपुर फुटबल क्लब, सुनसरीलाई ३–१ ले हरायो ।

सलहेशको जितमा यानिकले दुई गोल गरे । उनले २८औं मिनटमा पेनाल्टीबाट पहिलो गोल गरेका थिए भने ३१औं मिनटमा दोस्रो गोल थपेका थिए । त्यस्तै दोस्रो हाफको १५औं मिनटमा रोशन क्षेत्रीले सलहेशका लागि तेस्रो गोल गरेका थिए ।

उता पराजित प्रकाशपुरका लागि दोस्रो हाफको छैठौं मिनटमा बिबेक राईले पेनाल्टीबाट गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तापनि सफल भएनन् ।

खेलमा सलहेशका यानिक म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत बैशाख १३ गते बुधबारको क्वाटरफाइनल खेल गोलबजार स्पोर्टस क्लब र मकवानपुर–११ बीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १८ गतेका दिन हुनेछ ।

Post Comments