News मकवानपुर–११ सेमिफाइनलमा प्रवेश
गोलनेपाल

गोलबजार । मकवानपुर–११ यहाँ जारी छैठौं गोलबजार मेयर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको तेस्रो क्वाटरफाइनलमा गोलबजार स्पोर्टस क्लबलाई ४–२ ले हराउँदै मकवानपुर अन्तिम चारमा प्रवेश गरेको हो ।

गोलबजार खेलग्राममा भएको खेलको पहिलो मिनट मै प्रितम स्याङ्बोले मकवानपुरका लागि गोलको खाता खोलेका थिए । त्यसको चार मिनट लगतै समिर तामाङले त्यो अग्रता दोब्बर पारे । तर गोलबजारले खेलमा पूनःरागमन गर्यो । २८औं मिनटमा सुजन पुलामीले गोलबजारका लागि पहिलो गोल गरे भने ४०औं मिनटमा सुजन थापाले दोस्रो गोल गरेका थिए ।

यद्यपि दोस्रो हाफको छैठौं मिनटमा अभिषेक लामाले मकवानपुरका लागि तेस्रो गोल गर्दा ८०औं मिनटमा प्रितम स्याङ्बोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मकवानपुरको जित सुनिश्चित गरेका थिए ।

खेलमा दुई गोल गरेका मकवानपुरका प्रितम स्याङ्बो म्यान अफ द म्याच पनि घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजारसहित ट्रफी हात पारे ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही बैशाख १८ गतेका दिन हुनेछ ।

Post Comments