News ब्रदरहुडलाई नवौं गोलबजार मेयर गोल्डकपको उपाधि
गोलनेपाल

गोलबजार । गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा सम्पन्न नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि ब्रदरहुड फुटबल क्लब, उदयपुरले जितेको छ ।

आइतबार भएको फाइनलमा ब्रदरहुडले सलहेश युवा क्लब, सिरहालाई २–१ को अन्तरले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल बन्यो । ब्रदरहुडको जितमा दुवै गोल पुजन चौधरीले गरे । उता पराजित सलहेशका लागि भने एन्ड्रियुले गोल फर्काएका थिए ।

विजेता बनेको ब्रदरहुडले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्दा उपविजेता सलहेशले २,२२,२२२ रुपैयाँसहित ट्रफी, मेडलमा चित्त बुझाउन बाध्य बन्यो । फाइनल खेलमा निर्णायक दुई गोल गरेका ब्रदरहुडका पुजन चौधरी म्यान अफ दि म्याच समेत चुनिए ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पनि ब्रदरहुड कै सौरभ बराल चुनिए । उत्कृष्ट डिफेन्डर सलहेशका कुलदिप कार्की बन्दा उत्कृष्ट मिडफिल्डर पनि सलहेश कै सुजन डंगोल बने । त्यस्तै उत्कृष्ट फरवार्ड ब्रदरहुडका आकाश राई बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार चात्या सा एफसी, झापाका शिशिर लेखीले हात पारे ।

उत्कृष्ट प्रशिक्षक पनि विजेता टोली ब्रदरहुडका डेविन मगरले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी पनि विजेता बनेको ब्रदरहुड फुटबल क्लब कै सुदिप श्रेष्ठ घोषित भए ।

 

Post Comments