News ब्रदरहुड नवौं गोलबजार मेयर गोल्डकपको फाइनलमा
गोलनेपाल

गोलबजार । संघर्षपुर्ण जितका साथ ब्रदरहुड फुटबल क्लब, उदयपुर जारी नवौं गोलबजार मेयर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनलमा ब्रदरहुडले चात्या सा फुटबल क्लब, झापालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धातमक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ ब्रदरहुडका लागि रिचार्ड डेजेङवा र आकाश राईले गोल गरे भने चात्या साका लागि दुवै गोल शिशिर लेखीले गरेका थिए । यद्यपि पेनाल्टी शुटआउटमा ब्रदरहुडले नतिजा आफ्नो पक्षमा पार्यो ।

खेलमा ब्रदरहुडका गोलरक्षक सौरभ बराल प्लेयर अफ दि म्याच चुनिए । अब ब्रदरहुडले यही चैत्र २९ गते आइतबारका दिन हुने फाइनलमा सलहेश युवा क्लब, सिरहासँग उपाधिका लागि भिड्नेछ ।

गोलबजार नगरपालिका, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,४४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,२२,२२२ रुपैयाँ प्राप्त गर्नेछ ।

Post Comments