News पुलिसको जितमा जुमानुको ह्याट्रिक
गोलनेपाल

काठमाडौं । अनुभवी फरवार्ड जुमानु राईले ह्याट्रिक गरेपछि नेपाल पुलिस क्लबले शहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट जितका साथ लिगतालिकाको शिर्ष ६ मा रहेर सुखद समापन गरेको छ ।

एन्फा कम्प्लेक्समा बिहीबार भएको लिगको आफ्नो अन्तिम खेलमा पुलिसले फ्रेण्डस क्लबलाई ३–० ले हरायो । पुलिसका लागि तीनै गोल जुमानुको नाममा रह्यो । साथै राईले तीनै गोल दोस्रो हाफमा गरे ।

४९औं मिनटमा जुमानुले पुलिसका लागि पहिलो गोलको खाता खोलेका थिए । ५६औं मिनटमा राईले नै त्यो अग्रता दोब्बर पारे । त्यस्तै ८५औं मिनटमा तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्नुका साथै राईले पुलिसलाई पनि उत्कृष्ट जित दिलाए ।

ह्याट्रिककर्ता जुमानु नै खेलको म्यान अफ द म्याच घोषित भए । यो जितपछि १३ खेलबाट २० अंक जोडेको पुलिस लिगतालिकाको पाँचौं स्थानमा छ । एक खेल कम खेलेको जावलाखेलको १९ अंक छ र छैंटौं स्थानमा छ । उता पराजित फ्रेण्डस भने १४ अंकका साथ लिगतालिकाको दशौं स्थानमा रहेर लिगको समापन गरेको छ ।

 

Post Comments